महामन्त्रीमा शशांक,कोषाध्यक्षमा सीतादेवी - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Tuesday, March 8, 2016

महामन्त्रीमा शशांक,कोषाध्यक्षमा सीतादेवी

कांग्रेस महाधिवेशन

काठमाडौं: सभापतिको पदमा दरिलो विजय हासिल गरेको भोलिपल्टै कांग्रेसका दुई महत्वपूर्ण पद महासचिव र कोषाध्यक्षमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्यानलको पराजय सामना गर्नुपरेको छ। 
त्रिकोणात्मक प्रतिस्पर्धामा बिपीपुत्र शशांक कोइरालाले महामन्त्री
पदमा विजय हासिल गरेका छन् भने उनकै प्यानलबाट सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचित भएकी छन्। कोइरालाले निकटतम प्रतिद्वन्द्वी तथा कांग्रेसका स्थापित नेता अर्जुननरसिंह केसीलाई चार सय मतले पराजित गरेका छन् भने २०६२/०६३ को आन्दोलनमा कांग्रेसबाट गणतन्त्रको नारा लगाउने पहिलो व्यक्ति गगन थापाले ५८४ मतमात्र हासिल गरी अपमानजनक पराजय भोगेका छन्।
मंगलबार भएको मतगणनामा कोइरालाले १४ सय १७ र उनका निकटतम प्रतिद्वन्द्वी केसीले एक हजार १७ मत पाएका छन् । शशांक पार्टीले लिएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको लाइनको विपक्षमा छन्।
महामन्त्रीमा पराजय भएलगत्तै केसीले विज्ञप्ति जारी गरी पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासबाट खुसी भएको उल्लेख गर्दै नवनिर्वाचित महामन्त्री कोइरालालाई बधाई दिएका छन्। उनले निर्वाचनका दौरानमा उत्पन्न भएका तिक्ततालाई मेटाउँदै पार्टीभित्र उत्साही र प्रीतिकर वातावरण बनाएर लक्ष्यमा पुग्ने जिम्मेवारी निर्वाचितहरूको काँधमा आएको पनि जनाएका छन्। 

'पार्टीलाई नेतामुखी र नातामुखी होइन, नीतिमुखी बनाउने, आन्तरिक लोकतन्त्र, संस्थागत कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीप्रति समर्पित भएर सक्रिय रहेका निष्ठावान् कार्यकर्ता साथीहरूको न्यायोचित मूल्यांकनको परिपाटी बसाल्नुपर्ने, पार्टीका आधारभूत सिद्धान्त तथा नीतिलाई पुनर्स्थापित गर्ने जिम्मेवारी नवनिर्वाचित नेतृत्वको काँधमा आएको हुनाले यस्ता विषयमा मोलाहिजा नगरी कार्यान्वयन गर्ने जिम्मेवारी पूरा हुने मैले अपेक्षा गरेको छु,' विज्ञप्तिमा उल्लेख छ, 'यी मूल्य र मान्यतालाई कार्यान्वयन गर्नका लागि म सदैव प्रतिबद्ध रहनेछु ।'
आँखाका डाक्टर ५९ वर्षीय शशांक २०४६ सालअघिसम्म सक्रिय राजनीतिमा थिएनन् । बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका कोइराला संविधानसभा निर्वाचनमा दुवैपटक नवलपरासी क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।
शालीन स्वभावका उनी राजनीतिमा सफ्ट लाइनरका रूपमा चिनिन्छन्। कसैसँग पनि विवाद गर्न नरुचाउने उनी कांग्रेसभित्र मिजासिला नेताका रूपमा परिचित छन्।
महामन्त्रीमा भएको जितलाई कोइरालाको पार्टी नेतृत्वमा पुग्ने पुलका रूपमा पनि विश्लेषण गरिएको छ। यसअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले पनि शशांकलाई नै पार्टी नेतृत्वमा लैजाने तयारी गरेका थिए। कोइराला कांग्रेसका पुराना नेताले जस्तै जेलनेल नभोगे पनि झन्डै २० वर्ष बाबु बीपीसँगै भारत निर्वासनमा बसेका थिए।
बीपी जेल परेपछि बनारस गएका शशांकले स्कुलदेखि एमडीसम्म भारतमै अध्ययन गरेका हुन् । एमबीबीएस पढ्दै गर्दा थाइल्यान्डकी युवती सुपात्रा भाटियासँग उनले प्रेमविवाह गरेका हुन्। शशांककी पत्नी डा. सुपात्रा कोइराला प्रसूतिसम्बन्धी नेपालकी चर्चित डाक्टर हुन्।
राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं बीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए। पार्टी महामन्त्रीमा जित हात पारेका शशांक कांग्रेस पदाधिकारी टिममा कोइराला परिवारका एकमात्र प्रतिनिधि हुन्।
उनको यो उपस्थितिले कांग्रेसमा कोइरालाको वर्चस्व सकिएको छैन भन्ने प्रस्ट झल्को दिएको छ । शशांकले पाएको लोकप्रिय मतले पनि कोइराला परिवारको प्रभावलाई थप बलियो पारेको छ।
त्यसैगरी मंगलबारै भएको मतगणनामा निर्वतमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतको मात्रै अन्तरले सीताले हराएकी हुन्। सीताले १२ सय १७ र चित्रलेखाले १२ सय ९ मत पाएकी छन्।  

कोषाध्यक्ष पदमा निर्वाचित भएपछि  कार्यकर्ता तथा शुभेच्छुकलाई अभिवादन गर्दै सीतादेवी यादव। तस्बिर: दिनेशविक्रम शाह
कोषाध्यक्षकै अर्का उम्मेदवार उमाकान्त चौधरीले भने चार सय ५७ मत पाएका छन्। उनी सभापतिका उम्मेदवार कृष्णप्रसाद सिटौलाको प्यानलबाट चुनाव लडेका हुन् । त्यसैगरी कोषाध्यक्षमा उम्मेदवार बनेका कास्कीका कृष्ण कार्कीले ६६ मत पाएका छन्।
यसअघि जिल्ला राजनीतिमा मात्रै सक्रिय भएकी सीता केन्द्रीय समितिमा एक्कासि कोषाध्यक्षबाट प्रवेश गरेकी हुन्। उनी सहिद पत्नी पनि हुन् । उनका पति चन्द्रनारायण यादवको सशस्त्र द्वन्द्वका बेला माओवादीले हत्या गरेका थिए। 


खुला सदस्यहरूको मतगणना आज
कांग्रेसका खुलातर्फका केन्द्रीय सदस्यहरूको मतगणना बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । निर्वाचन समितिका अनुसार बुधबार बिहान १० बजेदेखि खुला २५ सदस्यका लागि मतगणना हुनेछ।
खुला सदस्यको २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका छन्। खुला सदस्यको मतगणना सकिएपछि समावेशी सदस्यहरूको मतदान हुने निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages