- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, July 21, 2014

ईपीएसको नियम परिवर्तन यो वर्ष कम युवा उत्तीर्ण हुने
:

काठमाडौं, ३ साउन- दक्षिण कोरियाले कोरिया भाषा परीक्षामा विगतका तुलनामा यो वर्ष कम युवा उतीर्ण गराउने भएको छ । कोरियाको मानव संशाधन विकास (एचआरडी)ले रोजगार अनुमति प्रणाली (ईपीएस)को नियम परिवर्तन गर्दै कामदारको मागका आधारमा मात्र भाषा परीक्षा उत्तीर्ण गराउने व्यवस्था गरेको हो ।
गत वर्ष धेरै कामदार कोरिया जान नपाएपछि आन्दोलन गरेकाले योपटक नियम परिवर्तन गरेको ईपीएस कोरिया सेन्टरले जनाएको छ । गत वर्ष ८ हजार युवा भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।
ईपीएस सेन्टर नेपालका निर्देशक लि दोङ सिर्कले श्रम बजारको अवस्था हेरेर रोजगारदाताले कति कामदार लिन सक्छन्, त्यही आधारमा भाषा परीक्षामा उत्तीर्ण गराइने जानकारी दिए । “ईपीएस प्रणालीको कमजोरी भनेको उत्तीर्ण भएपछि रोजगारीको ग्यारेन्टी हुँदैन,” उनले कारोबारसँग भने, “यसले समस्या आइरहेको छ ।” भाषा परीक्षामा उत्तीर्ण भएको २ वर्षभित्र कोरिया पुगिसक्नुपर्छ । तर, सन् २०११ मा भाषा परीक्षा दिएका मध्ये करिब ३ हजार कोरिया जान पाएनन् ।
नियम परिवर्तनबाट उत्तीर्ण युवा बढीभन्दा बढी जान सक्ने व्यवस्था हुने सेन्टरले जनाएको छ । “कोरियाका रोजगारदाताले कति कामदार लिन्छन्, त्यो हेर्छाैं,” उनले भने, “त्यही आधारमा भाषा परीक्षामा उतीर्ण गर्छाैं । यस्तो भएपछि अधिकांश कामदार जान पाउनेछन् ।”
दक्षिण कोरियामा औद्योगिकतर्फ २० वटा क्षेत्र छन् भने कृषि र पशुपालन २ क्षेत्रमा कामदार जान पाउँछन् । “भाषा परीक्षा उत्तीर्णपछि कामदारले रोजगार फर्म भर्दा आफूले काम गर्न चाहेको क्षेत्र भर्नुपर्छ,” उनले भने, “गाह्रो काम भएको क्षेत्र रोज्नेले छिटो जान पाएका छन् ।” रोजगारदाताले चाहेको माग र कामदारले चाहेको काम मिल्नुपर्छ ।
दक्षिण कोरियाले ४ वर्ष १० महिना काम गरी फर्केका कामदारले पुनः जान दिनुपर्ने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी)मा पनि कम उत्तीर्ण गराउन थालेको छ । विगतमा ८० प्रतिशतसम्म उत्तीर्ण गराएको एचआरडीले अहिले २० प्रतिशतमात्र उत्तीर्ण गराउन थालेको हो ।
आवेदक ६० हजार पुग्ने
कोरियाले यो वर्ष भाषा परीक्षामा ६० हजार नेपाली युवाको आवेदन पुग्ने अनुमान गरेको छ । पारिश्रमिक वृद्धि, आवेदन केन्द्र विस्तार र प्रचारप्रसारका कारण आवेदकको संख्या बढ्ने अनुमान कोरियाले गरेको हो । गत वर्ष सबैभन्दा बढी आवेदन नेपालबाट परेको थियो । गत वर्ष करिब ४७ हजार युवाले कोरियाका लागि आवेदन गरेका थिए ।
निर्देशक सिर्कले कोरियाले ६० हजार आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको काम अगाडि बढाइरहेको बताए । “अर्काे वर्षदेखि लागू हुने गरी पारिश्रमिक वृद्धिको घोषणा गरिसकेकको छ,” उनले थपे, “आवेदन केन्द्र पनि यो वर्ष पोखरा र धनगढीमा थप गरिँदैछ । यसबाट भाषा परीक्षामा बढी सहभागी हुनेछन् भन्ने हाम्रो अनुमान हो ।” गत वर्ष काठमाडौं, धरान र पोखरामा मात्र आवेदन केन्द्र राखिएको थियो । यो वर्ष भाषा परीक्षाको आवेदन साउन २९ गतेदेखि ३ दिनसम्म लिने र परीक्षा असोज १० र ११ गते हुने भएको छ । यसबारेको आधिकारिक सूचना भने एचआरडीले दिइसकेको छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages