- Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, August 4, 2014

सिन्धुपाल्चोकमा पहिरो
आ-आफ्नै घरमा भेटिए २३ शव



राम्चे (सिन्धुपाल्चोक), श्रावण २० - भीषण पहिरोमा परेर बेपत्ता भएकामध्ये सोमबार तीन बालबालिका, १४ महिलासहित २३ जनाको शव फेला परेको छ। तीन दिनपछि एक्जाभेटर र डोजर लगाएर उत्खनन गर्दा उनीहरूमध्ये धेरैजसो आ-आफ्नै घरमा पुरिएको अवस्थामा फेला परेका थिए। मृत्यु हुनेको संख्या अब ३३ पुगेको छ।

कतिपय शवहरू आमाले बच्चा च्यापेको र श्रीमान्-श्रीमती अंगालो हालेको अवस्थामा भेटिएका थिए। 'कुन-कुन घर कहाँ-कहाँ थिए अन्दाज गरेर उत्खनन सुरु गर्दा एकै घरका परिवार सबै एउटै स्थानमा भेटिए,' प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने, 'ती घरमा पहिरोले ह्वात्तै पुरेको र महिला/केटाकेटी भाग्न नसकेको देखियो।'

डोजरले एकै परिवारका शवहरू धमाधम एकैथलोबाट निकालेको थियो। उद्धारमा सेना, नेपाल र सशस्त्र प्रहरीले सहयोग गरेका थिए। शवहरू गन्हाएका र टुक्रा भएकाले उत्खननमा कठिनाइ भएको थियो। पुरिएर मृत्यु हुनेमा माङ्खा १ का गणेश श्रेष्ठ, उनकी श्रीमती चन्द्रमाया, धनबहादुरकी सासू (नाम नखुलेकी), सोममाया श्रेष्ठ र उनको तीन महिनाका छोरा, पुनम श्रेष्ठ, जया श्रेष्ठ, रजनी खत्री, लालकुमारी बुढाथोकी, रमिता खत्री, मिठु खत्री, मिथिला दनुवार, राजु थामी, उनका दुई छोरा र श्रीमतीलगायत छन्।

उत्खननबाट पाइएका शव आफन्तलाई बुझाइएको छ। शव निकाल्दा आफन्तको रुवाबासी चलेको थियो। छोरीको फोटो देखाएर रुँदै खड्गबहादुर श्रेष्ठले भने, 'दैवले किन यस्तो गरायो?' उनले छोरीको फोटो खल्तीमा बोकेर ल्याएका थिए। 'यस्तो पीडा त कसैलाई नपरोस्,' स्थानीय रामचन्द्र पराजुलीले भने। हुन पनि प्रेमलाल तामाङ र खड्गबहादुर तामाङको पूरै परिवार बेपत्ता छ।

यसैबीच बेपत्ता भएका माङ्खा १ का पदमबहादुर भण्डारीको कुशको शव बनाएर सुनकोसीमा दाहसंस्कार गरिएको छ। टेकानपुरवासीले पनि बेपत्ताको कुशको शव बनाएर दाहसंस्कार गरेका थिए। डीएसपी भरतबहादुर बोहराका अनुसार पहिरोबाट प्रभावित माङ्खा, धुस्कुन र राम्चेका १ सय १७ जना अझै बेपत्ता छन्। पहिरोबाट ४ सय ३६ जना विस्थापित भएका छन्।

पानीको मात्रा बढाइने

पहिरोले सुनकोसी थुनेर बनेको तालको अवस्था स्थिर रहेपछि भूगर्भविद्, मौसमविद् र जलउत्पन्न प्रकोपको सल्लाहबमोजिम मंगलबार पानीको निकासको मात्रा बढाइने छ। विषयगत विज्ञहरूले तालको निरीक्षण गरेपछि यस्तो सल्लाह दिएको जानकारी प्रजिअ पराजुलीले दिए।

तालको पानी थारै मात्र घटेको छ। त्यसको निकास बढाउन सेनाले तालको दक्षिणतिरको भागमा दुई पटक विस्फोट गराएको थियो। तर निकास खासै बढेको छैन। एकै पटक पानीको मात्रा बढाउँदा तालको तल्लो भागलाई बढी खतरा हुने प्राविधिक टोलीको भनाइ छ। 'पानी नबढाउँदा ताल सुकाउन सकिँदैन,' प्रजिअ पराजुलीले भने, 'विस्तारै निकास दिने प्रयत्न गरिरहेका छौं।' ताल फुट्ने भयले स्थानीयवासीमा बढेको त्रास भने रोकिएको छैन। राजमार्ग आसपासका बजारबाट अन्यत्र विस्थापित हुने क्रम रोकिएको छैन। जिल्ला प्राकृतिक प्रकोप उद्धार समितिले मृतक र विस्थापितको परिवारलाई राहत दिन सुरु गरेको छ। प्रत्येक मृतकका परिवारलाई ४० हजारका दरले प्रदान गरिएको छ।

वैकल्पिक सडक बनाउने

सरकारले तातोपानी नाका जोड्ने वैकल्पिक सडक निर्माण गर्न तत्काल सर्वेक्षण सुरु गर्ने भएको छ। यसका लागि पहिरो गएको खण्ड राम्चे हुँदै बाह्रबिसे वा खाडीचौरबाट सिलढुंगा, तौथली टेकानपुर, धुस्कुन हुँदै बाह्रबिसे जाने सडक बनाउन सडक विभागका अधिकारीले पहिरो निरीक्षणपछि जानकारी दिएका छन्। अरनिको राजमार्गको ड्यामसाइटदेखि जुरेसम्मको करिब अढाई किलोमिटर भाग पहिरोले पूरै क्षति पुर्‍याएको छ। करिब १ किलोमिटर बगाएको छ। डेढ किमि तालले छोपेको छ। प्राविधिकका अनुसार पहिरो गएको स्थानबाट अस्थायी सडक बनाउने अवस्था देखिँदैन। सुख्खा पहिरो र्झन नरोकिँदा खतरा सधैं कायम रहेको जानकारी सडकका प्राविधिकले दिएका छन्। विभागका महानिर्देशक देवेन्द्र कार्कीको टोलीले पहिरो स्थल निरीक्षण गरेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages