चरी प्रहरी इन्काउण्टरमा मारिए
चर्चित गुण्डा नाइके चरि भनिने दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिएका छन् । काठमाडौं र धादिङ्को सीमानामा पर्ने भीमढुङ्गामा भएको मुठभेटमा चरी मारिएको प्रहरीले जनाएको छ ।
चरी काठमाण्डौको सितापाईला क्षेत्रमा रहेको सूचना पाएपछि प्रहरी उनको पिछा गर्दै त्यस क्षेत्रमा पुगेको थियो । मोटरसाईकलमा रहेको प्रहरी टोली उपर चरीले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा चरीको मृत्यु भएको प्रहरीले दावी गरेको छ । चरीको कोखा, घाँटी लगायतका भागमा प्रहरीको गोली लागेको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर मुचुल्का उठाइ अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट चरीले बोक्ने आधुनिक हतियार र केही थान गोली बरामद गरेको दावी गरेको छ । केही दिन देखि काठमाडौंमा रहेका चरी प्रहरीको आँखा छल्दै धादिङ् जाने क्रममा थिए । प्रहरीले केही पछिल्लो २४ घण्टादेखि चरीको पिछा गरिरहेको बताईएको छ । घटना लगत्तै काठमडौं प्रहरी प्रमुख उत्तम कार्की र पुष्कर कार्की घटनास्थल पुगेका थिए । काठमाडौंमा प्रहरीले गुण्डा नाइकेलाई इन्काउण्टर गरेको यो पहिलो घटना हो । केही महिना अघि काठमाडौंको गुर्जुधारमा धादिङ्को राधे समुहसँग भएको भीडन्तमा चरीको पाखुरामा गोली लागेको थियो । ललितपुरका मिनकृष्ण महर्जनलाई गोली प्रहारको घटनामा पनि चरी मुछिएका छन् । गुण्डा नाईकेबीचको भीडन्तमा केही समयअघि मात्र अर्का चर्चित गुण्डा नाइके सुजन पौडेल भनिने रमेश बाहुनलाई पक्रिएको थियो । प्रहरीले बाहुनलाई पनि इन्काण्टर गर्ने प्रयास गरेपनि असफल भएको बताईन्छ । प्रहरी पछिल्लो समय गुण्डागर्दी विरुद्ध कडा रुपमा प्रस्तुत भएको छ । काठमाडौंको सबै चर्चित गुण्डाहरु प्रहरीको निगरानीमा रहेका छन् । प्रहरी रिपोर्ट अनुसार राजधानीमा चरीको उपस्थिति २०६२ सालदेखि देखिन थालेको हो । उनी नयाँ बजारलाई आधार इलाका बनाएर आपराधिक गतिविधिमा संलग्न थिए । यार्सा लुटपाटबाट आपराधिक गतिविधिमा संलग्न उनी पछिल्लो समय असुली, धम्की र क्यासिनो लगानीमा सक्रिय थिए । आपराधिक गतिविधिमा संलग्न रहेपनि कहिले प्रहरी अधिकारी त कहिले राजनीतिक संरक्षणमा उनी जोगिँदै आएका छन् । धादिङ्मा चरी प्रारम्भमा काँग्रेस नेताका लागि काम गर्दै आएका थिए । दलिरो राजनीतिक संरक्षण नपाएपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले चरीलाई धादिङ् क्षेत्र नंबर १ को उपाध्यक्ष बनाएको थियो ।

No comments:
Post a Comment