काठमाडौं– प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ सम्म भारतको भ्रमण गरे ।
भारत भ्रमणका बेला उनले भारतीय समकक्षी नरेन्द्र मोदीबाहेक राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्री गृहमन्त्रीदेखि विपक्षी दल काँग्रेस नेतासम्म भेटे ।
भ्रमण सकेर स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे मन्त्रीहरूलाई रमाइला किस्सा सुनाएका छन् ।
ओलीका किस्सा सुनेका एक मन्त्रीले ओली भ्रमणका केही रहस्य यसरी सुनाए ।
१– मोदीसँग अलिअलि, बेँकैयासँग मन माझामाझ
प्रधानमन्त्री ओलीले आफ्नो ब्रिफिङमा भारत भ्रमणका बेला नेपाल–भारत सम्बन्धबारे समकक्षी मोदीसँग अनौपचारिक कुराकानी अलिकलि मात्रै भएको बताए । तर भारतको राजकीय भ्रमणमा भारतका उपराष्ट्रपति बेँकैया नायडुसँग भएको भेटवार्तामा भने मन माझिने गरी कुरा भएको ओलीले मन्त्रीहरूलाई बताएका थिए ।

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले भारतीय उपराष्ट्रपतिसँग भ्रमणको दोस्रो दिन चैत २४ गते भेट गरेका थिए । उपराष्ट्रमा निर्वाचित हुनुअगाडि नायडु सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेता थिए । भाजपाका पूर्वनेता भएकै कारण आफूले उनीसँग मन माझामाझ हुने गरी कुराकानी गरेको ओलीको भनाइ छ ।
२–राम्रो गृहकार्य थिएन
प्रधानमन्त्री ओलीले समकक्षी मोदीसहितको वार्तामा भ्रमणको एजेन्डाबारे नेपाली गृहकार्य नपुगेको सुनाएका थिए । पानी जहाज र रेलको कुराबाहेक अरू विषयमा धेरै गृहकार्य नभएको नेपाली प्रतिनिधिमण्डलको कुरा थियो । ओलीले मन्त्रीहरूलाई सुनाएअनुसार नेपाली टोली भ्रमणको प्रर्याप्त गृहकार्यमा थिएन । गृहकार्य नपुगेको भन्दै अरूण तेस्रो परियोजनाको शिलान्यास पनि अन्तिम समयमा स्थगित गरिएको थियो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि भारतले आर्थिक सहयोग गराउने घोषणा गरेको छ ।

हैदराहाउसबाटै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । उनीहरूले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन पनि गरेका थिए ।
३– रेल मात्रै कि बजेट पनि ?
दुई देशबीचको प्रतिनिधिमण्डलको संवादमा रक्सौलदेखि काठमाडौंसम्म रेल ल्याउने एजेन्डाले प्रवेश पाएपछि प्रधानमन्त्री ओलीले सोधका थिए, ‘रेल मात्रै हो कि बजेट पनि हो भनेर मैले सोधेँ । त्यसपछि बजेटको कुरा पनि भयो ।’ ओलीले मन्त्रीहरूलाई सुनाएका छन् ।
४– तीन किलोमिटर सडक
ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भारतले तीन किलोमिटर सडक बनाउन नसकेको भनेर व्यङ्ग्य पनि हानेको दाबी मन्त्रीहरूलाई सुनाएका छन् । ओलीले मन्त्रीहरूलाई सुनाएअनुसार उनले मोदीलाई भनेका थिए, ‘भारतले दैनिक २६ किलोमिटर सडक बनाइरहेको छ । महाकालीमा बीस वर्षदेखि तीन किलोमिटर सडक बन्न सकेको छैन भन्न लाज लागेको छ ।’

५– ठूलो व्यापार घाटा
प्रधानमन्त्री ओलीले व्यपार घाटाको विषयमा पनि मोदीसँग रमाइलो कुरा गरेको दाबी मन्त्रीहरूलाई सुनाएका छन् । भारतसँगको नेपालको ब्यापार घाटाका विषयमा ओलीले मोदीसँग भनेका थिए, ‘भारत शक्तिशाली देश बन्दैछ । नेपालको उसँग ठूलो व्यापार घाटा छ । यो सुहाएन । के गरेर हुन्छ, तपाईंहरूले घटाउनेबारे सोच्नुहोस् ।’ भारतसँग नेपालको करिब साढे पाँच खर्बको व्यापार घाटा छ ।
६– आर्थिक घोषणाको अपेक्षा
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणमा भारतबाट आर्थिक सहायताको घोषणाको अपेक्षा गरेका छन् । मोदीले वैशाख २८ गते नेपाल भ्रमण गर्नेगरी तयारी हुँदैछ । यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ ।
Source: Ratopati
No comments:
Post a Comment