दुर्घटनामा १७ भारतीय तीर्थयात्रीको मृत्यु
'तीव्र गतिका कारण दुर्घटना'
धादिङ, वैशाख ९ - पशुपतिनाथको दर्शन गरेर भारत फर्किरहेका तिर्थालु बोकेको बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये १४ जनाको सनाखत भएको छ । बस तीव्र गतिमा भएका कारण दुर्घटना भएकाे हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुख उत्तम कार्कीले बताए । 'तीन फिट अग्लाे ढुंगा राखेकाे जाली भत्काएर बस खसेकाे छ, हेर्दा तीव्र गतिमा थियाे भन्ने देखिन्छ,' उनले भने ।
सडकको दाँयातर्फ रहेका तीन वटा रुखको जरा नै उखेलेर बस गुल्टिँदै झरेको छ । बसका चालक भने भेटिएका छैनन् ।
काठमाडौंबाट बिहान सवेरै भारतको गोरखपुर जान हिँडेको श्रीहरी टुर एन्ड ट्राभल्सको जीजे १४ एक्स ९९०० नम्बरको बस बिपरीत दिसातर्फ पुग्दा नौबीसेमा भिरबाट २ सय मिटर तल झरेको थियो ।
मृत्यु हुने १७ जनामध्ये ९ जना पुरुष र ८ जना महिला छन् । घटनास्थलमा सनाखत भएकाहरूमा गुजरात राज्यको सुरेन्द्रनगर जिल्ला होटुवानका गणेशशंकर छतवारा, गणेशशिवा छतवारा, ईश्वरी सामजी छतवारा, ढलपन भाई छतवारा, दयाराम सामजी छतवारा, गँगाराम लालजी छतवारा, नरसींभाई छतवारा, जसुवेन छतवारा, कञ्चनवेन छतवारा, सवितावेन छतवारा, गौरीवेन छतवारा, लिलावेन छतवारा, चम्पावेन छतवारा र गाडीका सहचालक अलफेस पटेल छन् ।
शवको मुचुल्का सकिएपछि काठमाडौं ल्याइने कार्कीले बताए । मृतकहरुले लगाएको गहगहना, साथमा भएको रुपैंया पैसाको मुचुल्का गर्न समय लागेका कारण शव काठमाडौं ल्याउन ढिलो भएको हो ।
यस्तै, घाइते सबैलाई काठमाडौंका विभिन्न अस्पताल पठाइएको भए पनि भारतीय दुतावासको आग्रहमा नर्भिक अस्पताल लगिएको छ । उपचारमा सहज हुने भन्दै सबैलाई एउटै अस्पतालामा राखेर उपचार गर्न लागिएको दुतावासले बताएको छ । मृत्यु हुने सबैको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा राखिने छ ।


No comments:
Post a Comment