राष्ट्रपतिमा विद्या भण्डारी र कुलबहादुर गुरुङको प्रतिष्पर्धा हुने, कसको पक्षमा कति मत ? - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Monday, October 26, 2015

राष्ट्रपतिमा विद्या भण्डारी र कुलबहादुर गुरुङको प्रतिष्पर्धा हुने, कसको पक्षमा कति मत ?

काठमाडौं, कात्तिक १० – बहुमतीय प्रक्रियामा पनि सहमति खोज्ने सम्भावना लगभग सकिएकाले बुधबार हुने राष्ट्रपति चुनावमा सत्तापक्ष र प्रतिपक्षका उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ ।
सत्तापक्षको तर्फबाट एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने कांग्रेसले पार्टीका पूर्व महामन्त्री कुलबहादुर गुरुङलाई अघि सार्ने तयारी गरेको छ । गुरुङलाई उम्मेदवार बनाउने निर्णय भने कांग्रेसको मंगलबार बस्ने बैठकले गर्नेछ । मंगलबार नै उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ । 
उम्मेदवारी दर्ता गर्नुअघि दलहरुले राष्ट्रपति र उपराष्ट्रपतिमा सहमतिको लागि अन्तिम प्रयास गर्ने बताएका छन् । तर यो सम्भावना कम रहेको नेताहरु बताउँछन् । सहमति भएमा कांग्रेसले राष्ट्रपति पाउनेछ र उसले मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी या वर्तमान राष्ट्रपति डा. रामवरण यादवलाई अघि सार्नेछ ।
 तर प्रधानमन्त्री चुनावमा कांग्रेसले असहयोग गरेको कारण उसको उम्मेदवारलाई समर्थन गर्न नसक्ने एमालेले प्रष्ट पारिसकेको छ । सोमबार बेलुकी बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमालेले आफ्नो निर्णयबाट पछि नहट्ने बताएको छ । यसो हुँदा भण्डारी र गुरुङबीच राष्ट्रपतिको लागि प्रतिष्पर्धा हुने निश्चित छ ।

कसको पक्षमा कति मत ?

कांग्रेससँग सहमति नभएमा राष्ट्रपतिमा एमाले उम्मेदवार विद्या भण्डारीलाई समर्थन गर्ने सत्तारुढ दलले निर्णय गरेका छन् । एकीकृत माओवादीले उपराष्ट्रपतिको लागि नन्दकिशोर पुनलाई उठाउने निर्णय गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव केही दिन पर सार्नेबारे छलफल भैरहेकाले बुधबार राष्ट्रपतिको मात्र चुनाव हुने सम्भावना छ ।
यसो हुँदा राष्ट्रपतिको लागि सत्तापक्षको तर्फबाट भण्डारी र प्रतिपक्षबाट गुरुङको प्रतिष्पर्धा हुनेछ । सत्तारुढ दलका सांसदले भण्डारीलाई र प्रतिपक्षका सांसदले गुरुङलाई मतदान गर्नेछन् ।
यसअघि प्रधानमन्त्री चुनावमा कांग्रेसलाई सहयोग गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति चुनावमा भाग नलिने बताएको छ । मोर्चा आवद्ध दलहरुसँग ३५ सिट छ । सत्तारुढ दलका सबै सांसदको मत पाएमा एमाले उम्मेदवार भण्डारी राष्ट्रपति बन्ने पक्का छ ।
संसदको तत्काल कायम ५ सय ९७ संख्यामा २ सय ४९ मत ल्याउने विजयी हुनेछ । प्रधानमन्त्री चुनावमा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, माले, नेमकिपा, जनमोर्चा लगायत १५ दलको तर्फबाट ३ सय ३८ मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
सत्ता गठबन्धनको यही मत राष्ट्रपति चुनावमा पनि आउने र भण्डारी निर्वाचित हुने एमालेको हिसाब छ । तर राष्ट्रपति चुनावमा गोप्य मतदान हुने भएकाले ‘क्रस भोटिङ’को सम्भावना बढी हुन्छ ।
सत्तारुढ दलहरुसँग स्पष्ट बहुमत भएकाले ‘क्रस भोटिङ’ नभएमा भण्डारी पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । सत्तारुढ गठबन्धमा एमालेको १ सय ८४, एमाओवादीको ८२, राप्रपा नेपालको २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५, नेमकिपाको ४, राष्ट्रिय जनमोर्चाको ३, नेकपा संयुक्तको ३, नेपाल परिवार दलको २, राष्ट्रिय जनमुक्ति पार्टीको २, बहुजन शक्ति पार्टीको १, समाजवादी जनता पार्टीको १, नेपाः राष्ट्रिय पार्टीको १ र मधेस सपता पार्टी नेपालको १ गरी जम्मा ३ सय ४० मत पुग्छ । 
यस्तै आफ्नो २ सय ७, अखण्ड नेपालको १ र स्वतन्त्र १ गरी कांग्रेसको पक्षमा २०९ मत मात्र देखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages