भारतको अघोषित नाकाबन्दीका कारण राजधानीमा कैयन सवारी साधनले आवश्यक मात्रामा तेल पाएका छैनन्। तर राजधानीमा गुड्ने ७ सय १४ वटा गाडी जसलाई भने ग्डनको लागि भारतबाट आयात हुने तेलमा भर पर्नु पर्दैन।
ब्याट्रीबाट चल्ने यस्ता टेम्पोहरुलाई अहिले राजधानीमा गुड्नको लागि कुनै समस्या भएको छैन। तेल अभाब भएको समयमा यस्ता टेम्पो सहज रुपमा चल्दा राजधानीबासीलाई केही राहत मिलेको छ। उपत्यकामा मात्रै सञ्चालन हुने यस्ता टेम्पो अहिले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा गुड्ने गरेका छन्। भारतको नाकाबन्दी लम्बिँदै गए पनि आफूहरुलाई कुनै असर नपर्ने टेम्पो व्यवसायीहरु बताउँछन्।
बिद्युतीय परिवहन व्यवसायी संघका अध्यक्ष हुम प्रसाद पोखरेलका अनुसार काठमाडौंमा यस्ता बिद्युतीय सवारी साधन २०५२ सालबाट सञ्चालनमा आएका हुन्। अध्यक्ष पोखरेलका अनुसार २०४५ सालमा भारतले लगाएको नाकाबन्दीका कारण यस्ता सवारी साधन नेपालमा भित्र्याउने परिकल्पना गरिएको हो।
पोखरेलले भने ‘२०४५ सालको नाकाबन्दीले यस्ता बिद्युतबाट चल्ने ३ पाङ्ग्रे टेम्पो भित्र्याइयो, अबको नाकाबन्दीले चार पाङ्ग्रे पनि भित्राउनुपर्छ भन्ने सरकारलाई महशुुस होस्।’ नेपालमा बिद्युतको प्रशस्त सम्भावना रहेका कारण पनि बिद्युतीय सवारी साधनमा जोड दिनुपर्ने पोखरेलको भनाई छ।
प्रदुषित बन्दै गएको काठमाडौैको वातावरणलाई समेत सुधार्न यो महत्वपुर्ण हुने बताउँदै पोखरेलले आगामी दिनमा सरकारले यस्ता ब्याट्रीबाट चल्ने सवारी साधनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाब दिन्छन्। अहिले यो ट्याम्पो व्यवसायबाट राजधानीमा झण्डै १२ सय जनाले रोजगारी पाएका छन्। जसमध्ये झण्डै आधाजसो महिला रहेको अध्यक्ष पोखरेलले जानकारी दिए।
एक पटक चार्ज गरेपछि यस्ता टेम्पो ६० किलोमिटर गुड्ने गरेका छन्। ६० किलोमिटर गुड्नको लागि ट्याम्पो चार्ज गर्दा २० युनिट बराबरको बिद्युत खर्च हुन्छ। ६० किमी गुड्नको लागि यस्ता ट्याम्पोले २ सय रुपैयाँ बराबरको उर्जा खपत गर्छन्।
तर डिजेलबाट गुड्ने सोहि प्रकारका गाडी भने एक लिटरबाट जम्मा १५ किमी मात्रै गुड्छन्। एक लिटर डिजलको मूल्य अहिले ८१ रुपैयाँ बराबर पर्छ। ६० किमी गुड्नको लागि यस्ता गाडीले चार लिटर बराबरको डिजेल खर्च गर्नुपर्ने हुन्छ। यसरी हेर्दा डिजेलबाट चल्ने गाडीले झण्डै ३ सय २४ रुपैयाँ बराबरको इन्धन खपत गर्छन्। आर्थिक हिसाबले समेत सस्तो पर्ने यस्ता गाडी २०६३ सालयताबाट भने नेपालमा आयात हुन सकेका छैनन्। देशमा लोडसेडिङको अवस्था रहेको भन्दै यस्ता गाडीको आयातमा अहिले कडाई गरिएको पोखरेल बताउँछन्। यस्ता टेम्पोहरु केही व्यवसायी आफैले चलाएका छन् भने केहीले व्यवसायीबाट भाडामा लिएर अन्य चालकहरुले चलाएका छन्।
टेम्पो चलाउँदा राम्रै पैसा कमाइने ट्याम्पो व्यवसायी तथा चालक कल्याणी चौहानको अनुभव छ। चौहानले अहिले ट्याम्पो चलाएर दैनिक २५ सय रुपैयाँ कमाउँदै आएकी छिन्। यो व्यवसायमा कुनै कठिनाई नभएको भन्दै उनले रोजगारीको अभावमा बिदेश बाहिरिने महिलाहरुलाई समेत विदेश नगई नेपालमै ट्याम्पो चलाउन सुझाव दिन्छिन्। उनले भनिन् ‘टेम्पो चलाउन सहज छ, नाफा पनि राम्रै छ, सरकारबाट हामीलाई केही चाहिँदैन केबल सधै सुरक्षाको राम्रो व्यवस्था होस्।’
करिब १२ लाख रुपैयाँ पर्ने यो ट्याम्पोमा प्रयोग हुने ब्याट्री अहिले अमेरीकाबाट आयात हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्। बानेश्वरको ट्रली बस सेन्टरमा अहिले यस्ता ट्याम्पोको ब्याट्री चार्ज गर्ने गरिएको छ। बन्द भएको ट्रलिबसलाइ समेत सञ्चालनमा ल्याउनुपर्ने पोखरेलको भनाई छ। कार तथा माइक्रोपनि ब्याट्रीबाट चल्नेलाई नै सरकारले भन्सार छुट र आयातमा प्रोत्साहन गर्न सके बेलाबेलाको भारतको नाकाबन्दीको मार जनतालाई अलि कम हुन्थ्यो कि भन्ने पोखरेलको आँकलन रहेको छ।
No comments:
Post a Comment