भाद्र २०, २०७२- सहकारीको गुणस्तर विकासका लागि सरकारले मर्जरको तयारी गरेको छ। सहकारीलाई बलियो र सुधार गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो तयारी गरेको हो।
‘गुणस्तर विकासका लागि सहकारी मर्जर अनिवार्य छ। विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अबलम्बन गर्न लागेका छौ,’ सहकारी पत्रकार समाज (सीजेएन) को पाँचौं स्थापना दिवसमा सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव शंकरप्रसाद अधिकारीले भने।
मर्जरका लागि सहकारी एकीकरण नीति ड्राफ्टको तयारीमा रहेको उनले बताए। ‘नीति बनेपछि सहकारी मर्जमा जान सजिलो हुनेछ,’ उनले भने। आर्थिक वर्ष २०७२/७३ को लागि सरकारको नीति तथा कार्यक्रममा पनि सहकारीलाई बलियो बनाउन एक आपसमा गाभ्न प्रोत्साहन गरिने जनाएको थियो।
‘सहकारी क्षेत्रको विकासका लागि एकै प्रकृतिका सहकारी संस्थाहरू एकआपसमा गाभ्न प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार मुलुकमा करिब ३३ हजार सहकारी दर्ता भएका छन्। तर, मर्ज नीति प्रभावकारी नहुँदा यस क्षेत्रमा समस्या देखिएको छ। अब बन्ने सहकारी ऐनमा दण्ड र कैदमा जोड दिइएको सचिव अधिकारीले बताए।
‘सहकारी ऐन २०४८ मा दण्डात्मक व्यवस्था नभएकाले केही सहकारीमा विकृति बढेको छ,’ उनले भने, ‘अब दण्ड र कैदमा पनि जोड दिनेछौं।’ उनले तीन खम्बे नीति मार्फत नै अर्थतन्त्र सबल हुने भएकाले सहकारी सक्षम बन्न आवश्यक भएको बताए।
सहकारी विभागका रजिस्ट्रार काशीनाथ मरासिनीले सहकारी सुरक्षित, मर्यादित बनाउन आवश्यक भएको बताए। ‘सहकारीको साख गिर्न दिनु हुन्न, सहकारीको सिद्वान्त राम्रो भए पनि केही सहकारी सहकारी सिद्वान्तविपरीत चलेका छन्,’ उनले भने, ‘ती सहकारीलाई मर्यादित बनाउनु आवश्यक छ।’
राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले कर्जा सूचना केन्द्र निर्माणका लागि सरोकारवाला निकायको छुट्टै संयन्त्र बनाउनुपर्ने बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीको गुणत्मक विकासका लागि सहकारी एकीकरणमा दबाबमूलक कार्यक्रम नै सञ्चालन गर्नुपर्ने बताए।
सीजेएनले रिपब्लिका राष्ट्रिय दैनिकका पत्रकार सागर घिमिरेलाई सीजेएन पत्रकारिता पुरस्कार २०७२ बाट सम्मान गरेको छ। घिमिरेलाई नगद पाँच हजार सहित कदरपत्रले सम्मान गरिएको थियो।
No comments:
Post a Comment