
काठमाडौं, भदौ २० । संविधान निर्माण प्रक्रिया पछिल्लो विकासक्रमको समीक्षा गरी आन्दोलनलाई थप कडा बनाउन मधेसी मोर्चाका शिर्षनेता काठमाडौंमा भेला हुने तयारीमा जुटेका छन् ।
मधेश केन्द्रीत सबैजसो राजनीतिक दलका अधिकांश शीर्ष नेताहरु सोमबारसम्म राजधानी आइपुग्ने उनीहरुले बताएका छन् । विजय गच्छादारपनि सडकमा आएकोले सामुहिक योजनाका लागि काठमाडौैंमा भेला गर्ने तयारी मधेसी मोर्चाको छ ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने र जनताका आकांक्षालाई सम्बोधन गरेर मात्र विश्राम लिने बताएका छन्। “जनताको भावनालाई सम्बोधन गर्न राज्यलाई बाध्य बनाउनु बाहेकको विकल्प छैन,, हाम्रो लडाइमा कुनै परिर्वतन हुँदैन, बरु अझ कडा बनाउँछौं ।” उनले भने ।
विजय गच्छादारपनि आन्दोलनका लागि सडकमा आएकाले मधेस आन्दोलनलाई थप बल पुग्ने मधेसकेन्द्रित दलहरुको बुझाइ छ ।
संघीय समाजवादी फोरमका नेता अशोक राईले विगतको सहमतिअनुसार संविधान बनाउने प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने बताए।
प्रमुख राजनीतिक दलले आगामी दिनमा निर्वाह गर्ने व्यवहारका आधारमा नै संविधानसभाको भूमिका निर्धारण गर्ने पनि राईले जानकारी दिए।
त्यस्तै, तराई–मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले अन्तरिम संविधान र हामीसँग विगतमा भएको सम्झौताअनुसार संविधान जारी हुनुपर्छ भन्दै संशोधन समयको विषय हाम्रो सरोकारको विषय नभएको बताएका छन् ।
यादवले यो आन्दोलन केवल मधेसीको मात्र नभएर थारू, नेवार, लिम्बू, तामाङ, मगरलगायत अधिकारबाट वञ्चित सबै समुदायको भएकाले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताए। उनले सबै समुदायको माग पूरा नभई संविधान जारी भए काठमाडौंसँग नाता तोडिएको घोषणा हुने बताए।उनले भने–‘हामी आगो बालेर काठमाडौंसँग सम्बन्ध तोडेर फर्कनेछौं।’
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पनि राज्यले जतिसुकै दमन गरे पनि हाम्रो आन्दोलन जारी रहन्छ भनेका छन् ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार काठमाडौं आउँदैछन्।
No comments:
Post a Comment