परकम्प अझै ६ महिनासम्म - Kantipur Online

Breaking


 Petrol(MS):NRs 112.00/L • Diesel(HSD):NRs 98.00/L • Kerosene(SKO):NRs 98.00/L • Aviation Turbine Fuel:NRs 104.50/L (Duty Paid) • Aviation Turbine Fuel(Jet A-1):USD 1125.00 (66h 41m)/KL (Bonded) • LP Gas:NRs 1400.00/cyl  


Post Top Ad

Responsive Ads Here

Wednesday, August 12, 2015

परकम्प अझै ६ महिनासम्म

काठमाडौं: वैशाख १२ को महाभूकम्पले चिरा पारेको जमिनमुनिको प्लेट सर्ने क्रम (रप्चर स्लिप) काठमाडौंसम्म आइपुगेको छ। 
 
नेपाली भूकम्पविज्ञले जिपिएस ट्र्याकर राखेर गरिरहेको अनुसन्धानअनुसार यस्तै रप्चर स्लिपका कारण काठमाडौं केन्द्रबिन्दु भएर भूकम्प गइरहेका हुन्।मंगलबार बिहान काठमाडौं कालीमाटी आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएको भूकम्प पनि यसकै निरन्तरता भएको विज्ञले बताएका छन्। 
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘रप्चर स्लिप काठमाडौंमुनि आइपुगेकाले सञ्चित शक्ति बाहिर आउन साना परकम्प गइरहन सक्छन्।' विज्ञका अनुसार दुई प्लेटबीच दरार उत्पन्न हुँदा सञ्चित शक्ति बाहिर निस्कने क्रममा उत्तरतर्फ धकेलिएको प्लेट क्रमशः दक्षिणतर्फ सर्दैछ । त्यही क्रममा काठमाडौं आसपास परकम्प आएको हो। 
 
'जमिनमुनि जम्मा भएको अझै ठूलो शक्ति एकैपटक बाहिर निस्किएर वा सानासाना परकम्प आइरहे तत्काल पहिलो भूकम्प गएको क्षेत्रमा अर्को भूकम्पको खतरा टर्छ', अधिकारीले भने।
 
हिमालय क्षेत्रमा दक्षिणबाट उत्तरततर्फ प्लेट सर्दा (जुध्दा) सञ्चित शक्ति जमिनबाट बाहिर निस्कँदा भूकम्प जान्छ। प्लेट सर्ने क्रम बन्द (लक) भएपछि उत्पन्न हुने शक्ति बाहिर निस्कँदा विभिन्न स्थानमा जमिन चिरिन्छ। जमिन चिरिएपछि पुनः उत्तर र दक्षिण दुवैतर्फका प्लेट केही तल (दक्षिणतर्फ) सरिरहेका छन्।
 
'तर यो कति सर्‍यो कसरी सरिरहेको छ भन्ने अध्ययन भइरहेको छ', अधिकारीले भने, 'यो दक्षिणतर्फ सर्दै गयो भने क्रमशः भूकम्प सकिन्छ भन्ने सिद्धान्त हो।' मंगलबार बिहान कालीमाटी आसपास केन्द्र भएर गएको ४. ३ रिक्टर स्केलको पनि परकम्प भएको केन्द्रले जनाएको छ।
 
मंगबार नै कीर्तिपुर आसपास केन्द्र बनाएर ३.७ र सोमबार राति गणबहाल आसपास केन्द्र बनाएर २.६ रिक्टर स्केलको भूकम्प गएको थियो। एकै दिनमा चार रिक्टरस्केलभन्दा ठूला ५० वटासम्म परकम्प गएका छन्।
 
भूकम्प मापन केन्द्रका अनुसार परकम्प जाने क्रम अझै कम्तीमा ६ महिना जारी रहनेछ। 'भूकम्पको संख्या हप्तैपिच्छे घट्दैछ तर जाने क्रम भने कम्तीमा ६ महिना जारी रहने देखिन्छ', अधिकारीले भने।
 
केन्द्रले पहाड तथा तराई विभिन्न प्रविधिको प्रयोग गरी प्लेटको गतिविधिसमेत अनुगमन गरिरहेको छ। जमिनमुनि सञ्चित शक्तिका आधारमा ठूलो भूकम्प जाने नजाने अनुगमन गरिरहेको केन्द्रले जनाएको छ। 'रप्चर स्लिप कसरी तल सरेको छ हेर्दैछौं', अधिकारीले भने।
 
यसअघि नै वैज्ञानिकले वैशाख १२ को भूकम्पले पाँच सेकेन्डमै काठमाडौंलाई डेढ मिटर दक्षिणतर्फ सारेको तथ्य सार्वजनिक गरेका थिए। ५० सेकेन्ड लामो धक्काले काठमाडौंलाई कोल्टे बनाएको कोलोराडो विश्वविद्यालयका वैज्ञानिक रोजर बिहामको निष्कर्ष थियो।
 
उनले त्यतिबेला नै यति छोटो सायमा ठूलो सहर यसरी सरेको उदाहरण संसारमै नभएको बताएका थिए।पश्चिम नेपालदेखि भारतको दिल्लीसम्म ठूलो भूकम्पको सम्भावनाबारे भने विश्वभरका वैज्ञानिकले सचेत गराइरहेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages